काठमाडौं । पछिल्ला केही दिनदेखि देशका विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः कम हुँदै जाने भएको छ। मौसममा प्रभाव पारिरहेको न्यूनचापीय प्रणाली कमजोर बन्दै गएसँगै सोमबारदेखि देशभर उल्लेख्य सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार भारतको उत्तर प्रदेश आसपास सक्रिय न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाका कारण नेपालका विभिन्न भूभागमा ठूलो वर्षा भएको हो। पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। त्यस्तै कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी पानी परेको विभागले जनाएको छ।
मौसमी प्रणाली कमजोर हुँदै गए पनि आइतबार दिउँसो पहाडी तथा तराई क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। लगातारको वर्षाका कारण जमिन कमजोर बनेको तथा नदी–खोलामा पानीको सतह बढेकाले पहिरो र बाढीको जोखिम भने तत्कालै समाप्त नभएको विभागले जनाएको छ। प्रभावित मध्य भूभागमा उच्च सतर्कताको संकेतसमेत जारी गरिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार रातिदेखि भारी वर्षाको सम्भावना घट्दै जानेछ। सोमबारदेखि भने देशभर मौसम क्रमशः सफा हुँदै जाने र कुनै विशेष मौसमी जोखिम नरहने विभागको पूर्वानुमान छ। सोमबार तराई क्षेत्रमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ।
