काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली भेट नगरी फर्किएको छ।
जबरालाई राखिएको अपराध अनुसन्धान कार्यालय, टेकुको गेटमा आयोगको टोली करिब ४५ मिनेटसम्म प्रतीक्षा गरे पनि प्रहरीले भेट्न अनुमति नदिएपछि टोली फर्किएको हो। जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा ल्याएको थियो। उनलाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको बताइएको छ।
प्रहरीले जबरालाई कार्यालयमा ल्याउनुको कारण ‘सुरक्षा थ्रेट’ रहेको जनाएको छ। सुरक्षा चुनौती देखिएपछि सम्भावित जोखिमबाट जोगाउन उनलाई कार्यालयमा ल्याइएको प्रहरीको भनाइ छ। तर, मध्यरातमा घरबाटै नियन्त्रणमा लिने प्रहरीको शैली, त्यसको कानुनी आधार र सुरक्षा चुनौती भए घरमै सुरक्षा दिन सकिने विकल्पबारे कानुनका जानकारहरूले प्रश्न उठाएका छन्। यसैबीच, मानव अधिकार आयोगको टोलीलाई समेत जबरासँग भेट गर्न नदिइएपछि घटनाको कानुनी र मानव अधिकारसम्बन्धी पक्ष थप चासोको विषय बनेको छ।
