चितवन । लगातारको वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदो र पहिरो हटाएपछि आइतबार दिउँसो १२ः१५ बजेदेखि सवारी आवागमन सुचारु भएको हो।
बिहान करिब ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेपछि सडक बन्द भएको थियो। अवरोध हटेसँगै नारायणगढबाट पोखरातर्फ र पोखराबाट नारायणगढतर्फ जाने सवारीसाधन तथा ढुवानीका गाडी चल्न थालेका छन्। यता, पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डमा भने पहिरोको समस्या कायमै छ। लगातारको वर्षाका कारण विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक आयोजना कार्यालयले जनाएको छ।
शीलतबजारमा रुख र लेदोसहितको पहिरो खसेको छ भने सडकको छेउसमेत भासिएको छ। बेनिघाट बजारनजिक गोमती खोलामा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर र हुग्दीखोला–जवाङखोला क्षेत्रमा पनि पहिरो तथा ढुंगा खसेका छन्। फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुंगा, लेदो र रुखसहितको पहिरो खसेको छ। त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको जनाइएको छ।
चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा पनि पहिरो तथा सडक क्षतिको समस्या देखिएको छ। सडक डिभिजन तथा आयोजनाका प्राविधिक टोलीले विभिन्न स्थानमा पहिरो हटाउने काम जारी राखेका छन्। थप ठूलो पहिरो नखसेमा साँझसम्म सडक सञ्चालनमा ल्याउने तयारी रहेको आयोजनाले जनाएको छ। पहिरो पन्छाउन सडक निर्माणमा प्रयोग भइरहेका उपकरणसमेत परिचालन गरिएको छ।
