घोराही । दाङमा जङ्गली च्याउ खाएर बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–१, वनघुस्रीकी लक्ष्मी माझीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जङ्गली च्याउ खाएपछि लक्ष्मीसहित उनकी आमा २६ वर्षीया सुमित्रा माझी र परिवारका अर्का एक सदस्य बिरामी परेका थिए। बिरामी परेका उनीहरूलाई उपचारका लागि सुरुमा भालुवाङ अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
लक्ष्मीकी आमा सुमित्रा भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। घटनाबारे प्रहरीले आवश्यक जानकारी दिएको छ। जङ्गली च्याउ खान योग्य हो वा विषालु भन्ने कुरा पहिचान गर्न कठिन हुन सक्छ। त्यसैले पहिचान नभएको जङ्गली च्याउ नखान र खाएपछि अस्वस्थ महसुस भएमा तत्काल स्वास्थ्य संस्थामा जानु आवश्यक छ।
