काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले स्वागत गरेका थिए। बेलायत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोली वाल्करसहित उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए। उक्त भेटमा दुई देशबीचको सैनिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भ्रमणका क्रममा उनले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको अवलोकन गर्नुका साथै त्यहाँ सञ्चालन भएको अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए।
उक्त अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीलाई प्रधान सेनापति सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली टोलीको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप उक्त प्रशंसा प्रदान गरिएको हो। निर्देशनालयले प्रधान सेनापतिको बेलायत भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
