१३ मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदन हुन बाँकी

काठमाडौं। विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका नेपाली राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएको छ।

संसदीय सुनुवाइ समितिले सबै प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरे पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ जनालाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको थियो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा तथा जर्मनीका लागि सरू जोशीलाई सिफारिस गरेको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार प्रस्तावित राजदूत हुन्। संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नामहरू अनुमोदन भएपछि मात्रै राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। समितिले नाम अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा राजदूत नियुक्तिका लागि सहमति माग्दै पत्राचार गर्नेछ। सम्बन्धित देशबाट सहमति प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Back To Top
Modern Footer Design