आफ्नै केन्द्रीय कार्यालय बनाउने तयारीमा रास्वपा, ३ रोपनीभन्दा बढी जग्गा खोज्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकामा आफ्नै केन्द्रीय कार्यालय स्थापना गर्न घरजग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि पार्टीले आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ।

पार्टीले असोज १७ गते बसेको केन्द्रीय समिति बैठकबाट स्थायी केन्द्रीय कार्यालय निर्माण गर्ने वा खरिद गर्ने निर्णय गरेको थियो। हाल सञ्चालनमा रहेको अस्थायी कार्यालयको विकल्प खोज्दै दीर्घकालीन रूपमा आफ्नै स्वामित्वको भवनमा कार्यालय सार्ने योजनाअनुसार प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ। रास्वपाले नयाँ कार्यालयका लागि काठमाडौं उपत्यकाको चक्रपथसँग जोडिएको वा त्यसको नजिक रहेको कम्तीमा तीन रोपनी क्षेत्रफलको जग्गा खोजेको छ। उक्त जग्गामा प्रशासनिक कामकाज, ठूला बैठक तथा छलफल सञ्चालन गर्न मिल्ने भवन हुनुपर्नेछ। भवन नभएको अवस्थामा आवश्यक संरचना निर्माण गर्न सकिने खाली जग्गा पनि प्रस्ताव गर्न सकिनेछ।

पार्टीका अनुसार मुख्य सडकसम्म सहज पहुँच भएको र कम्तीमा २० फिट चौडा पक्की सडकले छोएको घरजग्गालाई प्राथमिकता दिइनेछ। साथै, पर्याप्त पार्किङ सुविधा र घरजग्गाको कानुनी स्वामित्व स्पष्ट भएको हुनुपर्ने सर्त राखिएको छ। यी मापदण्ड पूरा गर्ने इच्छुक घर तथा जग्गाधनीलाई २१ दिनभित्र आफ्नो प्रस्ताव पेस गर्न पार्टीले आह्वान गरेको छ। स्थायी कार्यालय निर्माण वा खरिदको योजनाले रास्वपाको संस्थागत संरचनालाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने लक्ष्य राखेको देखिन्छ।

Back To Top
Modern Footer Design