श्रीलंकासँग हवाई सम्पर्कदेखि व्यापार र लगानीसम्म विस्तार गर्ने प्रस्तावित राजदूत झाको योजना

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा सिफारिस भएकी डा. मञ्चला कुमारी झाले नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन, व्यापार, लगानी र हवाई सम्पर्क विस्तारमा जोड दिने प्रतिबद्धता जनाएकी छन्।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सहकार्यलाई प्रभावकारी बनाउने बताएकी हुन्। उनले नेपाल सरकारको परराष्ट्र नीतिअनुसार राष्ट्रिय हितको संरक्षण गर्दै सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। प्रस्तावित राजदूत झाले आफ्नो कार्ययोजनामा चार प्रमुख क्षेत्रलाई प्राथमिकता दिएकी छन्। पहिलो, नेपाल र श्रीलंकाबीच हवाई सम्पर्क विस्तार गर्ने, संयुक्त पर्यटन प्याकेज तयार पार्ने, भिसा प्रक्रियालाई सहज बनाउने र पर्यटन बजारमा दुवै देशको प्रवर्द्धन गर्ने उनको योजना छ।

त्यस्तै, रामायण सर्किटको विकास, जनकपुर र श्रीलंकाबीच धार्मिक पर्यटनको प्रवर्द्धन तथा सांस्कृतिक सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राखेकी छन्। बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई श्रीलंकाली तीर्थयात्रीका लागि प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य उनले अघि सारेकी छन्। यसका लागि दुवै देशका बौद्ध भिक्षु, विद्वान् तथा अनुसन्धानकर्ताबीच ज्ञान र अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरेकी छन्।

नेपाल र श्रीलंकाबीच व्यापार तथा लगानी बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने, व्यापारिक मञ्च आयोजना गर्ने र विदेशी लगानी आकर्षित गर्न पहल गर्ने उनको प्रतिबद्धता छ। यसका अतिरिक्त श्रीलंकामा रहेका नेपाली नागरिकको हकहित र सुरक्षाको संरक्षण, सार्वजनिक कूटनीतिको प्रवर्द्धन तथा दुई देशबीचको संस्थागत सहकार्यलाई बलियो बनाउने विषयलाई पनि उनले आफ्नो कार्ययोजनामा समेटेकी छन्।

Back To Top
Modern Footer Design