दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या १ लाख ८७ हजार नाघ्यो

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। घटस्थापनादेखि मंगलबार रातिसम्म १ लाख ८७ हजार ७ सय ७४ जना उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यका छाड्नेमा ६९ हजार ८९ जना महिला र १ लाख १८ हजार ६ सय ८५ जना पुरुष छन्। दसैँ मनाउन अध्ययन, रोजगारी तथा व्यवसायका लागि काठमाडौंमा बसोबास गर्दै आएका नागरिक आफ्नो घर फर्किन थालेपछि प्रमुख नाकामा यात्रु र सवारीसाधनको चाप बढेको हो।

नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको आवागमन बढेसँगै ट्राफिक प्रहरीले सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निगरानीसमेत तीव्र बनाएको छ।

अग्रिम टिकट बुकिङ गर्ने यात्रु पनि बढे

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ देखि २९ गतेसम्मका लागि १ लाख ३० हजार १ सय २९ जनाले अग्रिम टिकट बुकिङ गरेका छन्। असोज २३ गते २१ हजार ३ सय, २५ गते ७६ हजार ७९, २६ गते १७ हजार १ सय ९७ र २७ गते १५ हजार ५ सय ५३ जनाले अग्रिम टिकट लिएका थिए। ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको बताएका छन्।

यातायात व्यवस्था विभागका अनुसार नागढुंगा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ। , नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारीसाधनको चापका कारण यात्रा समय लम्बिन सक्ने भएकाले यात्रुलाई पर्याप्त समय छुट्याएर यात्रा गर्न सुझाव दिएका छन्। उनले ट्राफिक नियम पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन र क्षमताभन्दा बढी यात्रु नराख्न पनि जोड दिएका छन्। दसैँमा परिवारसँग भेटघाट गर्न र चाडपर्व मनाउन घर फर्किने क्रम अझै बढ्ने देखिएकाले यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आवश्यक छ।

Back To Top
Modern Footer Design