काठमाडौं। नेपालबाट मनसुन बाहिरिए पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्ने पूर्वानुमान गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा, चट्याङ र हिमपातबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
