काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभर स्कन्दमाता भगवतीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दुर्गाका नौ स्वरूपमध्ये पाँचौँ स्वरूपका रूपमा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन घरका पूजाकोठा तथा दसैँघरमा स्कन्दमाताको पूजा आराधना गर्ने गर्छन्। नवरात्रका अवसरमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गरी भगवतीको उपासना गर्ने चलन छ। धार्मिक मान्यताअनुसार स्कन्दमाताको आराधना गर्नाले शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने विश्वास गरिन्छ। नवरात्रका नौ दिनसम्म देवीका विभिन्न स्वरूपको पूजा गरी भक्तजनले सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्।
यस वर्ष असोज २५ गते घटस्थापनासँगै बडादसैँको नवरात्र सुरु भएको हो। घटस्थापनाका दिन विधिपूर्वक जमरा राखेर दुर्गाका पहिलो स्वरूप शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा र कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौँ दिन स्कन्दमाताको आराधना गरिँदै छ। नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ। बडादसैँका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्छ। नवरात्रभर पूजा आराधना गरी तयार पारिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा नेपाली समाजमा रहिआएको छ। यसरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन बडादसैँ मनाइन्छ।
