पाकिस्तानी खेलाडीबिनै चितवन मैदानमा, विराटनगरले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्। यस खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन्। यसअघि लगातार दुई सिजन कुशल मल्लले चितवनको नेतृत्व गरेका थिए। तर, यसपटक पूर्वकप्तान मल्ल प्लेइङ ११ मा परेका छैनन्।

चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, विवेककुमार यादव, रञ्जित कुमार, मौसम ढकाल तथा विदेशी खेलाडी डेबिड मलान, ड्यान मोस्ली र टम टेलर रहेका छन्। यस खेलमा चितवनका लागि अनुबन्ध गरिएका पाकिस्तानी खेलाडी हसन अली, उसामा मिर र मोहम्मद नवाज भने सहभागी छैनन्। पाकिस्तान क्रिकेट बोर्डले एनपीएल खेल्न प्रत्येक खेलाडीका लागि २५ हजार अमेरिकी डलर शुल्क तोकेपछि उनीहरूलाई मैदानमा उतार्ने निर्णयबाट चितवन पछि हटेको बताइएको छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पाकिस्तानी खेलाडीलाई खेलाउन पाकिस्तान क्रिकेट बोर्डले तोकेको शुल्क तिर्नुपर्ने बताएका छन्। पाकिस्तानी खेलाडी नखेल्ने भएपछि चितवनले विदेशी खेलाडीको कोटामा सबै इंग्लिस खेलाडीलाई समावेश गरेको छ। उता, विराटनगर किंग्सबाट कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, इमरान शेख, प्रतिश जिसी, बसिर अहमद, नरेन साउद, रुपेश सिंह, आन्द्रे रसेल, चरिथ असलंका, एन्जेलो म्याथ्युज र शुभम रञ्जाने खेलिरहेका छन्।

Back To Top
Modern Footer Design