सातै प्रदेशका प्रहरी डीआईजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाइयो

काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूलाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ।

बिहीबार बस्ने प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी गराउन उनीहरूलाई बोलाइएको हो। प्राप्त विवरणअनुसार सबै प्रदेशका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेदेखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। दिउँसो २ बजेका लागि तय भएको बैठक प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बस्नेछ।

बैठकमा कुन–कुन विषयमा छलफल हुने भन्नेबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। पछिल्लो समय आईजीपी कार्कीको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला सातै प्रदेशका प्रहरी प्रमुखलाई एकैसाथ काठमाडौं बोलाइनुलाई चासोका साथ हेरिएको छ। यसैबीच, आईजीपी कार्कीलाई पदबाट हटाउनेसम्मको तयारी भइरहेको भन्ने चर्चा पनि चलिरहेका छन्। तर, यसबारे सरकार वा प्रहरी प्रधान कार्यालयबाट आधिकारिक पुष्टि भएको छैन।

Back To Top
Modern Footer Design