काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
हाल देशका अधिकांश भूभागमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि अधिकांश बदली रहनेछ। सुदूरपश्चिम प्रदेशमा पनि आंशिकदेखि सामान्य बदली रहने अनुमान छ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपातको सम्भावना छ।
विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर सामान्यतया बादल लाग्ने अनुमान छ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार भने मौसममा क्रमिक सुधार आउने देखिएको छ। देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
