बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन, उद्धारको तयारी

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भारी हिमपात भएपछि दर्शन तथा भ्रमणका लागि पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

वर्षासँगै परेको बाक्लो हिमपातका कारण उनीहरू बाटोमै अलपत्र परेको आशङ्का गरिएको छ । सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिकातर्फ गएको थियो । टोलीका तीन जना दर्शन गरेर फर्किए पनि बोहरा र कार्की भने सम्पर्कविहीन भएका हुन् ।

करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्किने क्रममा शुक्रबार बोहरा सम्पर्कविहीन भएका थिए । त्यसपछि सागरसँग पनि शुक्रबार रातिदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार सागरसँग फोन सम्पर्क हुँदा उनले फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटन क्षेत्रमा रहेको जानकारी गराएका थिए । उक्त क्षेत्रमा भारी हिमपात भइरहेकाले उनीहरू हिउँमा फसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुवै जनाको मोबाइल फोन बन्द रहेको सङ्केत प्राप्त भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । लगातारको वर्षा र हिमपातका कारण उच्च हिमाली क्षेत्रमा उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालयले उनीहरूको खोजीका लागि मार्तडीबाट प्रहरी टोली पठाउने तयारी गरिरहेको जनाएको छ ।

Back To Top
Modern Footer Design