काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयवासीसँग भएको भेटघाटमा पुल निर्माणमा भइरहेको ढिलाइबारे गुनासो आएपछि उनले यस विषयमा चासो देखाएका हुन् । पुल निर्माण समयमै सम्पन्न हुन नसक्दा स्थानीयले दैनिक आवतजावतमा समस्या भोग्नुपरेको भन्दै गृहमन्त्रीसमक्ष समस्या राखेका थिए ।
स्थानीयको गुनासो सुनेपछि गुरुङले सडक विभागका कर्मचारीहरूलाई रोकिएको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । साथै, निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारसँग आवश्यक समन्वय र पहल गर्नसमेत उनले सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
