काडमाडाैँ । डोल्पा जिल्ला कारागारबाट ८ जना कैदीबन्दी सुरुङ खनेर फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
अचम्मको कुरा त के छ भने, कारागारमा जम्मा १७ जना कैदीबन्दी थिए भने उनीहरूको सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटिएका थिए। तर यति धेरै सुरक्षाकर्मी हुँदाहुँदै पनि कैदीहरू सुरुङ खनेर भाग्न सफल भए। शनिबार बिहान भएको यो घटनामा कैदीबन्दीले करिब साढे चार मिटर लामो सुरुङ बनाएर कारागारबाट बाहिरिएको खुलेको छ। फरार भएका ८ जनामध्ये ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। उनीहरूमध्ये २ जना थुनुवा र ६ जना सजाय भोगिरहेका कैदी रहेको कारागार प्रशासनले जनाएको छ।
कारागारका जेलर दीर्घराज आरसीका अनुसार शनिबार बिहान पौने ६ बजेतिर कैदीबन्दीको खोजतलास गर्ने क्रममा मात्रै उनीहरू फरार भएको थाहा भएको थियो। फरार कैदीहरू बस्ने कोठासँगै सेफ्टी ट्याङ्की जोडिएको थियो। उनीहरूले त्यही ठाउँबाट सुरुङ खनेर कारागारको पर्खालबाहिर निस्कने बाटो बनाएको पाइएको छ। राति पानी परेको र विद्युत् पनि गएको मौका छोपेर उनीहरूले यो योजना पूरा गरेको हुन सक्ने अनुमान गरिएको छ। तर चार मिटरभन्दा लामो सुरुङ खन्ने क्रममा पनि सुरक्षाकर्मीले कुनै चाल नपाउनुले सुरक्षा निगरानी कति कमजोर थियो भन्ने प्रश्न उठेको छ।
कारागारमा रहेका अन्य कैदीबन्दीले समेत उनीहरू सुरुङ खनेको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। सुरक्षाका लागि खटिएका प्रहरी पनि घटनाबारे अनभिज्ञ रहेको पाइएको छ। कारागारका दुई सुरक्षा पोस्टबीच करिब ४० देखि ४२ मिटरको दूरी रहेको र बीचको भागमा सुरक्षाकर्मीको निगरानी कमजोर रहेको बताइएको छ। सुरक्षा जानकारहरूले नियमित गस्तीको अभाव, कमजोर पूर्वाधार, सुरक्षाकर्मीको लापरबाही र कमान्ड कन्ट्रोलको कमजोरीका कारण यस्तो घटना भएको हुन सक्ने बताएका छन्।
घटनापछि फरार कैदीबन्दीको खोजीका लागि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब डेढ सयदेखि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले फरार भएका आठै जनाको नाम र तस्बिर सार्वजनिक गर्दै उनीहरूको खोजीमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। यस घटनाले सीमित कैदीबन्दी रहेको कारागारमा समेत सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको देखाएको छ। अब प्रश्न उठेको छ—१५ जना सुरक्षाकर्मी खटिएको कारागारबाट आठ जना कैदीले सुरुङ खनेर भाग्दासम्म कसरी कसैले सुइँको पाएन?
