गगन थापाको आरोप : ‘हामीले जे बोल्यौँ, त्यही हुकुम हो भन्ने सरकारी सोच चिन्ताजनक’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति अधिकारमाथि भइरहेको व्यवहार चिन्ताजनक रहेको बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सञ्चारगृहभित्र प्रहरी प्रवेश गराएर पत्रकारलाई पक्राउ गर्ने र चौतर्फी आलोचना भएपछि छाड्ने सरकारी शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको टिप्पणी गरे। उनले मिडिया हाउसमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्नु सामान्य घटना नभएको बताए। प्रहरी आफैँले स्वेच्छाले सञ्चारगृहको न्यूजरुममा प्रवेश नगर्ने भन्दै यस्तो कदम उच्च तहको आदेशबिना सम्भव नहुने उनको भनाइ थियो।

थापाले पत्रकार पक्राउ गर्ने र पछि आलोचना बढेपछि रिहा गर्ने प्रक्रियाले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोण स्पष्ट पारेको बताए। सरकारको इच्छा नै कानुन र आफूले बोलेको कुरा नै अन्तिम आदेश हो भन्ने सोच शासकमा विकसित हुनु लोकतन्त्रका लागि गम्भीर खतरा भएको उनको टिप्पणी थियो। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथि कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै थापाले सरकारलाई आफ्नो कार्यशैली सच्याउन र विधिको शासनको सम्मान गर्न आग्रह गरेका छन्।

Back To Top
Modern Footer Design