कोप–३१ मा नेपालको माग : हानि–नोक्सानी कोषको रकम छिटो र सहज रूपमा उपलब्ध गराउनुपर्ने

काठमाडौं । जलवायु परिवर्तनका कारण हुने विपद्बाट प्रभावित समुदायको उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय हानि–नोक्सानी प्रतिकार्य कोषबाट पर्याप्त अनुदान र सहज पहुँचको माग उठाउने भएको छ।

नोभेम्बर ९ देखि टर्कीको अन्ताल्यामा सुरु हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा नेपालले आफ्नो धारणा प्रस्तुत गर्दै विपद्पछि तत्काल आवश्यक पर्ने आर्थिक सहयोग छिटो उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनेछ। नेपालले विशेषगरी हिमाली तथा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रिय सहयोगको दायरामा समेट्नुपर्ने बताउने तयारी गरेको छ। हिमनदी पग्लिने, हिमताल विस्फोट हुने, पहिरो जाने र अत्यधिक वर्षाका कारण हुने क्षतिलाई अन्तर्राष्ट्रिय मूल्यांकन तथा वित्तीय सहयोगका मापदण्डमा स्पष्ट रूपमा समावेश गर्नुपर्ने नेपालको माग छ।

भोटेकोशी बाढीपछि नेपालका लागि हानि–नोक्सानी कोषले २ करोड १६ लाख अमेरिकी डलर छुट्याएको छ। नेपालले यसलाई महत्त्वपूर्ण उपलब्धि माने पनि उक्त रकम अझै निकासा भएको छैन। बाढीबाट भएको क्षतिको तुलनामा यो रकम पर्याप्त नभएको भन्दै नेपालले कोषमा घोषणा गरिएका प्रतिबद्धता पूरा गर्न र दीर्घकालीन आर्थिक स्रोतको व्यवस्था गर्न पनि आग्रह गर्नेछ। नेपालले विपद्बाट प्रभावित अति कम विकसित देशलाई कोषमा सहज पहुँच दिनुका साथै प्रत्यक्ष बजेट सहयोगको व्यवस्था गर्नुपर्ने धारणा अघि सार्नेछ। साथै, भौतिक संरचनाको क्षतिमात्र नभई सांस्कृतिक सम्पदा, शिक्षा, मनोसामाजिक अवस्था र जैविक विविधतामा परेको असरलाई पनि हानि–नोक्सानीको मूल्यांकनमा समेट्नुपर्ने नेपालको प्रस्ताव छ।

सरकारले प्रभावित समुदायले समयमै सहायता पाउने सुनिश्चित गर्दै पुनर्निर्माणलाई दीर्घकालीन र सुरक्षित जीविकोपार्जनसँग जोड्नुपर्नेमा समेत जोड दिएको छ। नेपालले तयार पारेको अवधारणापत्रअनुसार भोटेकोशी बाढीबाट करिब ६० हजार मानिस प्रभावित भएका छन्। उक्त विपद्मा १ हजार ४५३ जनाको मृत्यु भएको र ५ हजारभन्दा बढी बेपत्ता भएको उल्लेख छ। बाढीबाट करिब २ अर्ब ६८ करोड अमेरिकी डलर बराबरको सम्पत्ति क्षति भएको तथा पुनर्निर्माणका लागि ४ अर्ब ७८ करोड डलर आवश्यक पर्ने अनुमान गरिएको छ। कोप–३१ मा नेपालको सहभागिताको तयारीका लागि कृषि, वन तथा वातावरण मन्त्रालयको टोली सोमबार टर्की जाने भएको छ। मन्त्रालयका सहसचिव तथा जलवायु विज्ञ डा. महेश्वर दाहालको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गर्नेछ।

Back To Top
Modern Footer Design