सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
कारागारबाट फरार भएका आठ जनाको खोजी गर्ने क्रममा प्रहरीले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरबाट उनीहरू पक्राउ परेका हुन्। चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोलीले खोजतलासका क्रममा उनीहरूलाई फेला पारेको थियो।
प्रहरीका अनुसार गत कात्तिक १४ गते बिहान डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका थिए। उनीहरूको खोजी गर्ने क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गरिएको थियो। जिप जाँचका क्रममा उनीहरूले भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोही क्रममा उनीहरू डोल्पा कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्। दुवै जना जबर्जस्ती करणीसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका थिए। प्रहरीले पक्राउ परेका दुवै जनालाई गोतामकोट प्रहरी चौकीमा राखेको जनाएको छ। कारागारबाट फरार भएका आठ जनामध्ये हालसम्म दुई जना पक्राउ परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको छ।
