काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै संघले आठ दिनदेखि २५औँ पटक आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोप्रति चिन्ता व्यक्त गरेको हो। उनको जीवनरक्षाका लागि सरकारले तत्काल वार्ताको पहल गर्नुपर्ने संघको माग छ।
डा. केसीले उठाएका मागबारे गम्भीरतापूर्वक छलफल गरी समस्याको समाधान खोज्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ। यसै विषयमा थप छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालयमा बैठक आयोजना गर्ने जनाएको छ। छलफलमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सक सहभागी हुनेछन्। इलामबाट पछिल्लो अनशन सुरु गरेका डा. केसी हाल काठमाडौंमा उपचाररत छन्।
