काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री नेतृत्वको टोलीले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ।
बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साहसँग भारतीय टोलीले करिब आधा घण्टा छलफल गरेको थियो। भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा कुराकानी भएको बताइएको छ। मिस्रीसँगै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव एवं नर्थ डिभिजन प्रमुख मन्नु महावर, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, दूतावासका डीसीएम डा. राकेश पाण्डेलगायत अधिकारी सहभागी थिए।
प्रधानमन्त्रीसँगको भेटवार्ता सकेर भारतीय प्रतिनिधिमण्डल मध्याह्न १२ बजे बूढानीलकण्ठस्थित इटालीटारमा रहेको रवि लामिछानेको निवास पुगेको थियो। रविसँग भएको भेटवार्ताको विषयवस्तु भने सार्वजनिक भइसकेको छैन।
