लुम्बिनी लायन्ससँग जनकपुर बोल्ट्स १६ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै लुम्बिनीले अंक तालिकाको शीर्ष स्थानलाई थप मजबुत बनाएको हो। लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। यससँगै चार खेल खेलेको लुम्बिनीले तेस्रो जित दर्ता गर्दै १० अंक जोडेको छ। लुम्बिनी अन्य टोलीभन्दा तीन अंकले अघि छ। पाँच खेल खेलेको जनकपुरको भने यो तेस्रो हार हो।

लक्ष्य पछ्याउने क्रममा जनकपुर सुरुदेखि नै दबाबमा देखियो। १० ओभरको खेल सकिँदा टोलीले ५५ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाउँदा जनकपुर जितको लक्ष्यसम्म पुग्न सकेन। जनकपुरका लागि हरमित सिंहले सर्वाधिक ३३ रन बनाए भने आदित्य महतो ३० रनमा अविजित रहे। पर्भेज हुसेन इमोनले २८ र तृतराज दासले १८ रनको योगदान दिए। आठौँ विकेटका लागि हरमित र आदित्यले ४३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए।

बलिङतर्फ लुम्बिनीका डीआरसी शर्टले तीन विकेट लिए। तिलक भण्डारी र शेर मल्लले समान दुई–दुई विकेट हात पारे भने रुबेन ट्रम्पलमनले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन जोड्दा निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रन बनाए। सामिम हुसेनले १३ तथा रुबेन ट्रम्पलमनले १५ रनको योगदान दिए।

जनकपुरका बलर विशाल सुस्लिङ र राहुल यादवले समान दुई–दुई विकेट लिए। हरमित सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे। गत संस्करणको विजेता लुम्बिनीले यसपटक पनि बलियो लय देखाउँदै उपाधि रक्षा गर्ने संकेत दिएको छ। प्रतिवेदनअनुसार टोली हालसम्म खेलेका १० खेलमा अपराजित रहेको छ। चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।

Back To Top
Modern Footer Design