जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप जुम्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भएका तथा हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका करिब ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ।
जीपमा चालकसहित १६ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
