इजरायल पठाउने भन्दै ठगी : भरत चौलागाईं पुर्पक्षका लागि कारागार, चार जना धरौटीमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका भरत चौलागाईंलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

थुनछेक बहसपछि अदालतले शुक्रबार रामेछापको सुनापति गाउँपालिका–१ का चौलागाईंलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नामसमेत दुरुपयोग गरी ठगी गरेको आरोपमा चौलागाईंलाई प्रहरीले असोज १ गते पक्राउ गरेको थियो । उनी नेपाली कांग्रेसका निवर्तमान महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

यस प्रकरणमा प्रहरीले दोलखा घर भएकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र दीपेन्द्रसिंह सामन्तलाई पनि पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अदालतले बालिका शिवाकोटीलाई १ लाख, ज्ञानबहादुर कार्कीलाई २ लाख ५० हजार, शिवराम श्रेष्ठलाई २ लाख ५० हजार र दीपेन्द्रसिंह सामन्तलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रहरी अनुसन्धानअनुसार आरोपीहरूले केयरगिभरको रोजगारीका लागि इजरायल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब २ करोड ५० लाख रुपैयाँ उठाएको आरोप छ । दोलखाको कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका शिवाकोटीले आफूले संकलन गरेको रकममध्ये करिब डेढ करोड रुपैयाँ चौलागाईंलाई बुझाएको बयान प्रहरीसमक्ष दिएकी थिइन् ।

नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो । त्यसक्रममा लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए । लक्की ड्रमा छनोट हुन नसकेका १५६ जनालाई समेत आफूहरूले इजरायल पठाइदिन सक्ने भन्दै चौलागाईंको समूहले रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Back To Top
Modern Footer Design