इरान र न्युजिल्यान्डबीच २–२ गोलको रोमाञ्चक बराबरी

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।

लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा इरानले दुईपटक पछाडि परेको अवस्था उल्टाउँदै बराबरी नतिजा निकाल्न सफल भयो। यस नतिजासँगै दुवै टोलीले एक–एक अंक जोड्दै समूहको शीर्ष दुई स्थानमा स्थान बनाएका छन्। यही समूहमा रहेका बेल्जियम र इजिप्टको पनि समान एक–एक अंक छ। न्युजिल्यान्डका लागि इजिल जस्ट चम्किए। उनले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। इरानी पेनाल्टी क्षेत्रमा प्राप्त बललाई उत्कृष्ट नियन्त्रणमा लिएर उनले सटीक प्रहारमार्फत गोल गरेका हुन्। इरानले ३२औं मिनेटमा खेल बराबरीमा ल्यायो। रमनी रेजाइनले पेनाल्टी क्षेत्रभित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै आकर्षक गोल गरे।

यसअघि २४औं मिनेटमा इरानका मेहदी तारेमीको प्रहार पोस्टमा लागेर फर्किएको थियो। दोस्रो हाफको ५४औं मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः अग्रता दिलाए। मिडफिल्डबाट सुरु भएको आक्रमणलाई उनले उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए। यससँगै जस्ट विश्वकप इतिहासमा एकै खेलमा दुई गोल गर्ने पहिलो न्युजिल्यान्डेली खेलाडी बने। तर न्युजिल्यान्डको अग्रता धेरै समय टिक्न सकेन। खेलको ६३औं मिनेटमा मोहम्मद मोहेबीले हेडमार्फत गोल गर्दै इरानलाई पुनः खेलमा फर्काए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल २–२ को बराबरीमा सकियो।

Back To Top
Modern Footer Design