चितवन । चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार भरतपुर महानगरपालिका–३ नारायणघाट क्षेत्रबाट किशोरलाई भारतीय नम्बर प्लेटको गाडीमा राखेर अपहरण गरिएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र चितवन प्रहरीबीच समन्वय गरी खोजी अभियान सञ्चालन गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले मंगलबार काठमाडौंको नयाँ बजारस्थित एक होटलबाट किशोरको उद्धार गरेको हो। उद्धारसँगै अपहरणमा संलग्न रहेको आरोपमा सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद शाहिदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै युवक १८ वर्ष उमेर समूहका रहेका छन्।
प्रहरीका अनुसार अपहरणकारीहरूले किशोरका परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागेका थिए। घटनाको अनुसन्धानका क्रममा चितवनबाट पनि एक जना व्यक्ति पक्राउ परेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी व्यवसायसँग सम्बन्धित रहेको खुलेको छ। चिनजानकै आधारमा एउटै उमेर समूहका केही युवाहरूको योजनामा अपहरण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
