प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद रानाको आपत्ति

काठमाडौँ। नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुगेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको इतिहास, वीर पुर्खाहरूको योगदान र राष्ट्रियताको विषय स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे। रानाले अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायत वीर योद्धाहरूले देश रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट जोगिएको बताए।

उनले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसले राष्ट्रिय भावनामा ठेस पुर्‍याएको आरोप लगाए। उनका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भए पनि अझै ती क्षेत्रको विषय समाधान हुन बाँकी छ। उनले ती भूभागको संरक्षण र फिर्ता गर्नुपर्नेमा जोड दिए। सांसद रानाले राष्ट्रियताको विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै राजनीतिक दल र नेतृत्वले देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न गम्भीर हुनुपर्ने बताए।

Back To Top
Modern Footer Design