काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट करिब ११ प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका छन्। उनले आर्थिक कूटनीति, सार्वजनिक कूटनीति तथा प्रविधिमैत्री सेवा प्रवाहलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको बताए।
बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालय र मातहतका निकायका लागि कुल ८ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। यो कुल बजेटको ०.४१ प्रतिशत हो। मन्त्री खनालका अनुसार नेपालको परराष्ट्र नीति संविधान, संयुक्त राष्ट्रसंघीय बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा सञ्चालन भइरहेको छ। राष्ट्रिय हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि र नेपाली नागरिकको हित संरक्षणलाई केन्द्रमा राखेर सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अघि बढाइएको उनले बताए। हाल नेपालले १८३ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको तथा ४४ वटा नेपाली नियोग विदेशमा सञ्चालनमा रहेको उनले जानकारी दिए।
तीमध्ये ३१ दूतावास, ३ स्थायी नियोग र १० महावाणिज्य दूतावास रहेका छन्। आगामी वर्ष द्विपक्षीय सम्बन्ध सुदृढीकरण, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, आर्थिक कूटनीति प्रवर्द्धन तथा नेपालको सौम्य शक्ति (सफ्ट पावर) विकासलाई प्राथमिकतामा राखिएको उनले बताए। त्यस्तै, कन्सुलर सेवा र राहदानी प्रणालीलाई थप डिजिटल र प्रविधिमैत्री बनाइनेछ। एआईमा आधारित सञ्चार प्रणाली, विदेशस्थित नियोगका भवन निर्माण, घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालनलगायत कार्यक्रम पनि अघि सारिएको छ। विदेशमा रहेका नेपालीको पुँजी, सीप र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न ‘नेपाली डायस्पोरा ग्लोबल नेटवर्क’ स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ। साथै, सार्क राष्ट्रका युवा कूटनीतिज्ञका लागि ‘लुम्बिनी फेलोसिप’ कार्यक्रम र अन्तर्राष्ट्रिय संवाद शृङ्खला सञ्चालन गर्ने योजना रहेको छ।
विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा शव स्वदेश ल्याउने कार्यलाई उच्च प्राथमिकता दिइएको मन्त्री खनालले बताए। यसका लागि ‘आपत्कालीन उद्धार तथा सहायता कोष’ स्थापना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विभिन्न देशमा समस्यामा परेका नेपालीहरूको उद्धार भइसकेको र केहीको उद्धार प्रक्रिया जारी रहेको जानकारी दिए। कुवेतमा रहेका नेपाली थुनुवा संख्या ६३ रहेको र तीमध्ये ७ जना महिला रहेको जानकारी दिँदै उनले अनौपचारिक रूपमा विदेशिने क्रम नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। मन्त्री खनालले राष्ट्रिय हित, नागरिक सुरक्षा र अन्तर्राष्ट्रिय छविको सुदृढीकरणलाई केन्द्रमा राखेर मन्त्रालयले आगामी दिनमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
