काठमाडौँ। संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा विकास निर्माणका गतिविधि विस्तार हुँदै जाँदा मुगुको सोरु गाउँपालिकाका बस्तीहरू पनि क्रमशः धुलो र हिलोमुक्त बन्दै गएका छन्।
विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुने गरेको थियो। यही समस्यालाई समाधान गर्न गाउँपालिकाले विभिन्न बस्तीका पैदलमार्ग तथा स्थानीय सडकहरूलाई पीसीसी र आरसीसी प्रविधिबाट स्तरोन्नति गर्ने अभियान अघि बढाएको हो गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सबै वडामा सडक तथा गोरेटो बाटो सुधारको काम गरिरहेको जनाएको छ। सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीका अनुसार विगत केही वर्षदेखि बस्तीहरूलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा बाटो निर्माण भइरहेको छ।
उनले भौगोलिक विकटता र कठिन भू–बनोटका कारण अपेक्षाअनुसार काम गर्न चुनौती भए पनि अभियानलाई निरन्तरता दिइएको बताए। हालसम्म गाउँपालिकाका विभिन्न बस्तीमा करिब ९ हजार ३५० मिटरभन्दा बढी पीसीसी बाटो निर्माण गरिएको छ भने अन्य क्षेत्रमा पनि काम जारी रहेको छ।गाउँपालिकाभित्र रहेका ७३ वटा बस्तीलाई क्रमशः धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिइएको छ। आगामी पाँच वर्षभित्र सोरुका सबै बस्तीमा व्यवस्थित बाटो निर्माण गरी धुलो र हिलोको समस्या अन्त्य गर्ने योजना रहेको उपाध्यक्ष शाहीले बताए।
स्थानीय तह र वडा कार्यालयबाट विनियोजन गरिएको बजेटमार्फत अधिकांश क्षेत्रमा बाटो निर्माण सम्पन्न भइसकेको छ भने केही योजनाहरू कार्यान्वयनको चरणमा छन्। चालु आर्थिक वर्षमा समेत धुलो तथा हिलोमुक्त बस्ती निर्माणलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र शाहीका अनुसार विगतमा हिलोयुक्त बाटोका कारण स्थानीयवासी तथा पशुचौपायालाई आवतजावतमा समस्या हुने गरेको थियो। साथै, अव्यवस्थित वातावरण र फोहोरमैलाले स्वास्थ्यमा समेत असर पार्ने भएकाले बस्तीलाई सफा, व्यवस्थित र सहज बनाउन यो अभियानलाई तीव्रता दिइएको हो।
