विश्वकपमा मेसीको दबदबा कायम, कीर्तिमानमाथि कीर्तिमान थपिँदै

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा आफ्नो प्रभावशाली यात्रा जारी राख्दै नयाँ–नयाँ कीर्तिमान थपिरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा मेसीको नाम अब कीर्तिमानसँग मात्र होइन, इतिहाससँगै जोडिन थालेको छ।उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मेसीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। स्ट्रियाविरुद्धको खेलमा सुरुआतमै पेनाल्टी अवसर खेर फालेका मेसीले त्यसपछि ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। इन्जुरी समयमा अर्को गोल थप्दै उनले अर्जेन्टिनाको जित सुनिश्चित गरे र विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा एक्लै शीर्ष स्थानमा उक्लिए।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। यस अवधिमा उनले सर्वाधिक खेल खेल्ने, सर्वाधिक जित निकाल्ने, सर्वाधिक गोल गर्ने तथा विभिन्न चरणमा गोल गर्ने जस्ता अनेकन कीर्तिमान स्थापित गरिसकेका छन्। अल्जेरियाविरुद्धको ह्याट्रिकसँगै मेसी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने। ३८ वर्षको उमेरमा उनले बनाएको यो कीर्तिमानले यसअघिको रेकर्डलाई पछि पार्यो। साथै, उनी पाँच फरक संस्करणको विश्वकपमा गोल गर्ने दुर्लभ खेलाडीमध्ये एक बने।

अस्ट्रियाविरुद्ध गोल गरेपछि मेसी विश्वकपमा लगातार छ खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत बने। यसअघि फ्रान्सका जस्ट फोन्टेन र ब्राजिलका जायरजिन्होले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए। गोलको कीर्तिमान मात्र होइन, मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक जित निकाल्ने खेलाडी पनि हुन्। हालसम्म उनले विश्वकपमा २८ खेल खेलिसकेका छन् भने १८ खेलमा टोलीलाई जित दिलाएका छन्। यस्तै, विश्वकपमा सर्वाधिक असिस्ट गर्ने खेलाडी बन्ने दौडमा पनि मेसी अगाडि छन्। उनका नाममा हाल ८ असिस्ट छन्, जुन अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनाको बराबरी हो। थप एक असिस्ट गरेमा उनी एक्लै शीर्ष स्थानमा पुग्नेछन्।

मेसीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए। उनले सन् २०१४ र २०२२ मा गरी दुई पटक गोल्डेन बल अवार्ड जित्दै विश्वकप इतिहासमा यो उपलब्धि हासिल गर्ने एकमात्र खेलाडी बनेका छन्। विश्वकपमा सर्वाधिक ‘प्लेयर अफ द म्याच’ अवार्ड, सर्वाधिक मिनेट खेल्ने र सर्वाधिक अवसर सिर्जना गर्ने खेलाडीको कीर्तिमान पनि मेसीकै नाममा छ। जारी विश्वकपमा दुई खेलबाट पाँच गोल गरिसकेका उनी गोल्डेन बुटको प्रमुख दाबेदारका रूपमा समेत देखिएका छन्। विश्वकपमा उपलब्ध अधिकांश कीर्तिमान आफ्नो नाममा गरिसकेका मेसी अझै नयाँ इतिहास रच्ने अभियानमै छन्। उनको प्रत्येक खेलसँगै विश्व फुटबलले अर्को नयाँ कीर्तिमानको साक्षी बन्ने क्रम जारी छ।

Back To Top
Modern Footer Design