धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटना, डुबान र रहस्यमय अवस्थामा शव फेला परेको घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन्।
कैलालीको टिकापुर नगरपालिका–४ मा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ मुडाका ४० वर्षीय रुपलाल बादी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगञ्जस्थित वेस्टर्न अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–७ ठूलो सिंहपुरका ५५ वर्षीय वीरप्रसाद चौधरी आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन्।
बुधबार साँझ घरबाट करिब दुई किलोमिटर टाढा रहेको खेतमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ। उता दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानीको पोखरीमा डुबेर ४ वर्षीय बालक ओलिसन मन्यालको मृत्यु भएको छ। तरकारी बारीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेका उनलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। तीनवटै घटनाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।
