गृहमन्त्री र गृहसचिवको सवारीबाट ट्राफिकले हटायो कालो सिसा

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाएको छ। ट्राफिक प्रहरीले उपत्यकाभर कालो सिसा हटाउने विशेष अभियान सञ्चालन गरिरहेका बेला गृहमन्त्री गुरुङ स्वयं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए।

उनले आफ्नो सवारीबाट पनि कालो सिसा हटाउन आग्रह गरेपछि ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै सिसा हटाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार अभियान सबै प्रकारका सवारीमा समान रूपमा लागू गरिएको छ। उनका अनुसार कालो सिसा प्रयोग भएका सवारीसाधन अपराध तथा अवैध गतिविधिमा प्रयोग हुने घटनाहरू बढ्दै गएपछि यस्तो अभियानलाई तीव्र बनाइएको हो।

प्रहरीका अनुसार कालो सिसा भएका गाडीमार्फत लागुऔषध ओसारपसार, अवैध हतियारको ढुवानी, सुन तस्करी तथा अपराधीको भाग्ने माध्यमका रूपमा प्रयोग भएका घटनाहरू भेटिएका छन्। त्यसैले नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीमाथि निगरानी र कारबाही कडा पारिएको प्रहरीले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस वा अन्य संरचनात्मक परिवर्तन गर्न पाइँदैन।

Back To Top
Modern Footer Design