काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ।
यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। मन्त्रिपरिषद्ले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। त्यसैगरी, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न पनि सरकारले स्वीकृति दिएको छ। बैठकले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
