परिभाषा, नीति र दिशाविहीन राजनीति भइरहेको छ: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्था परिभाषा, नीति, दिशा र थितिविहीन बन्दै गएको टिप्पणी गरेका छन्।

आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान, कानुन र संसदीय प्रक्रियाअनुसार अघि बढ्नुपर्ने भए पनि अहिलेको सरकारको सुरुआत नै षड्यन्त्र, हिंसा र मानवीय क्षतिसँग जोडिएको आरोप लगाए। उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक तथा संसदीय प्रक्रिया नै उपयुक्त माध्यम हुने उल्लेख गर्दै हिंसा, आगजनी, तोडफोड, कब्जा र असंवैधानिक गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने बताए।

अध्यक्ष ओलीले लोकप्रिय बन्ने नाममा ‘पपुलिज्म’को भद्दा अभ्यास भइरहेको टिप्पणी गर्दै त्यसले राजनीति र समाजमा नकारात्मक प्रभाव पारिरहेको धारणा व्यक्त गरे। उनका अनुसार जनताको विश्वास जित्नेभन्दा पनि कृत्रिम रूपमा लोकप्रिय देखिने प्रवृत्ति बढ्दै गएको छ। सामाजिक सञ्जालको प्रयोगबारे पनि उनले चिन्ता व्यक्त गरे। दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण सामाजिक सञ्जालमार्फत निराधार र असत्य सूचना फैलाउने, भ्रम सिर्जना गर्ने तथा समाजमा विकृति बढाउने काम भइरहेको उनको भनाइ थियो। ओलीले सामाजिक सञ्जाल स्वस्थ बहस र विचार आदानप्रदानको माध्यम बन्न सक्ने भए पनि यसको दुरुपयोगले समाजमा गलत सूचना फैलाउने र उत्तरदायित्वहीन अभ्यासलाई प्रोत्साहन गरेको बताए।

Back To Top
Modern Footer Design