काठमाडौं । संघीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३-८४ को वार्षिक कार्ययोजना, समितिको अभिमुखीकरण कार्यक्रम तथा दक्षिणी सीमा क्षेत्रको शान्ति–सुरक्षासहित विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३-८४ को वार्षिक कार्ययोजना तयार गर्ने विषयमा विस्तृत छलफल गरिनेछ। उही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिका सदस्यहरूको अभिमुखीकरण कार्यक्रम र त्यससँग सम्बन्धित विषयमा विचार–विमर्श हुने जनाइएको छ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २:३० बजे बस्नेछ। उक्त बैठकमा दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति–सुरक्षा, सीमावर्ती क्षेत्रका चुनौती तथा आवश्यक सुधारका उपायबारे छलफल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
