लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित भानु–घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरका शालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–७ निवासी ३४ वर्षीय रोशन कुँवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत बुधबार मध्यनेपाल नगरपालिका–४ दुईपिप्ले बगैंचामा रहेको पार्कभित्रका दुवै शालिकमा तोडफोड गरिएको थियो। घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले शुक्रबार कुँवरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले कुँवरविरुद्ध अपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनाको कारण र तोडफोडमा संलग्न अन्य पक्ष भएरनभएको विषयमा समेत अनुसन्धान जारी रहेको छ।
