विश्वकप लिग २, नामिबियासँग नेपालको महत्वपूर्ण प्रतिस्पर्धा आज

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ।

यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेपछि नेपाली टोली दबाबमा छ। नेपाल पहिलो भेटमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटको हार व्यहोरेको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै लयमा फर्कने लक्ष्य नेपालसँग रहेको छ। विश्वकप लिग–२ को अंकतालिकामा नेपाल अहिले सहज अवस्थामा छैन। बाँकी खेलमा उत्कृष्ट प्रदर्शन नगरे विश्वकप ग्लोबल छनोटमा सिधै पुग्ने सम्भावना कमजोर हुने भएकाले टोलीका लागि प्रत्येक खेलको अवस्थामा पुगेको छ। विशेषगरी ब्याटिङ प्रदर्शनमा सुधार गर्न सके मात्र नेपालले अपेक्षित नतिजा निकाल्न सक्ने देखिएको छ।

लिग–२ मा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा प्रत्यक्ष स्थान बनाउनेछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने व्यवस्था छ। नेपालले हालको नेदरल्याण्ड्स शृङ्खलामा दुई खेल र त्यसपछि ओमानमा हुने अन्तिम चरणमा चार खेल गरी अझै ६ खेल खेल्न बाँकी छ। हालसम्म ३० खेलबाट २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। शीर्ष चारभित्र अटाउन नेपालले बाँकी सबै ६ खेल जित्नुपर्ने अवस्था छ। त्यसो गर्न सके नेपालको कुल अंक ३६ पुग्नेछ र शीर्ष चारमा पुग्ने सम्भावना बलियो बन्नेछ।

यदि नेपालले ६ मध्ये ५ खेल मात्र जित्यो भने ३४ अंकमा सीमित हुनेछ। त्यस्तो अवस्थामा ओमान, क्यानडा र नामिबियाको प्रदर्शन तथा नेट रनरेटका आधारमा मात्र नेपालको सम्भावना निर्भर रहनेछ। पाँचभन्दा कम जित हात पारे शीर्ष चारमा पुग्ने सम्भावना निकै कमजोर हुनेछ। विश्वकप छनोटको दौडसँगै नेपालका लागि एकदिवसीय (ओडीआई) मान्यता जोगाउने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ। लिग–२ को शीर्ष ६ टोलीभित्र रहन सके मात्र नेपालले आफ्नो ओडीआई मान्यता कायम राख्न सक्नेछ। यसका लागि नेपालले बाँकी ६ खेलमध्ये कम्तीमा ४ खेल जित्नुपर्ने देखिन्छ। चार जित हासिल गरे नेपालको ३२ अंक पुग्नेछ, जसले शीर्ष ६ मा रहने सम्भावना बढाउनेछ। तर तीन वा त्यसभन्दा कम जितमा सीमित भए नेपाल नामिबिया, क्यानडा र यूएईसँगको प्रतिस्पर्धामा पछि पर्ने तथा ओडीआई मान्यता गुमाउने जोखिम थप बढ्नेछ।

Back To Top
Modern Footer Design