मातृभाषामा पत्रकारिता लोकतन्त्र बलियो बनाउने प्रभावकारी माध्यम : मन्त्री गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रलाई थप सुदृढ बनाउन र नागरिकलाई राज्यका गतिविधिबारे सहज रूपमा जानकारी गराउन मातृभाषामा हुने पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता, संस्कृति तथा पहिचान संरक्षणमा आदिवासी समुदायले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

उनका अनुसार राज्यका नीति, निर्णय तथा सूचनाहरू नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको महत्वपूर्ण आधार हो। राज्य र नागरिकबीच सूचनाको पहुँचमा देखिएको दूरी कम गर्न सञ्चारमाध्यम र पत्रकारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन्। मन्त्री गौतमले नेपालको पहिचान सरकारी अभिलेखमा मात्र नभई यहाँका भाषा, संस्कृति, परम्परा र जीवनशैलीमा समेत प्रतिबिम्बित भएको बताइन्। नेपालको बहुजातीय तथा बहुभाषिक विविधताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले मातृभाषाको प्रयोग घरपरिवार वा समुदायमा सीमित नराखी सञ्चारमाध्यममार्फत व्यापक बनाउनुपर्ने धारणा राखिन्। मातृभाषाको संरक्षणसँगै त्यसमा रहेको पुस्तौँदेखिको ज्ञान, संस्कृति र सभ्यताको निरन्तरता पनि कायम रहने उनले बताइन्। भाषा संरक्षणसँगै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि र वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री गौतमले उल्लेख गरिन्।

Back To Top
Modern Footer Design