लागूऔषधसहित सात जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

सर्लाहीको लालबन्दी नगरपालिका–१२ बाट करिब १२ किलो ७०० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ लालभितीका ५० वर्षीय सानु परियार, उनकी ३५ वर्षीया श्रीमती सबिना परियार र लालबन्दी–१४ की ४० वर्षीया ज्ञानुमाया योञ्जन रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले मंगलबार बिहान उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ३५ वर्षीय नरेन्द्र भुजेल नियन्त्रित लागूऔषधसहित पक्राउ परेका छन्। उनको साथबाट फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र डाइजेपाम ३३ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले मंगलबार दिउँसो उनको घरमा तलासी गर्दा लागूऔषध फेला पारेको थियो।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–५ भैरव टोलबाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम ५८० मिलिग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरी रहेका छन्। प्रहरी चौकी गेटाबाट खटिएको टोलीले शंकर विकको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Back To Top
Modern Footer Design