सभापतिमा मेरो पनि रुचि छ, शेखर दाइ अघि बढे सहयोग गर्छु : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन गरेर छुट्टै दल गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्र देखिन सक्ने मतभेद र विवादलाई संवाद तथा छलफलमार्फत समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले समयअनुसार कांग्रेसलाई सुधार गर्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राख्दै पार्टीको नीति तथा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। पार्टीलाई बलियो बनाउन विकास र प्रभावकारी नीतिलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नो पनि रुचि रहेको उल्लेख गर्दै कोइरालाले अन्तिम निर्णय भने साथीहरूसँगको परामर्शपछि गर्ने बताए।उनले डा. शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको बताउँदै शेखर सभापति पदका लागि अघि बढे आफूले सहयोग गर्ने स्पष्ट पारे। कोइरालाले नयाँ र संगठित कांग्रेस निर्माणका लागि विकासमुखी नीति आवश्यक रहेको र स्पष्ट तथा प्रभावकारी नीति भए मात्रै जनताको विश्वास जित्न सकिने धारणा राखे।

Back To Top
Modern Footer Design