काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट एलपी ग्यास बिक्री गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री गरिने निगमले जनाएको छ। नियमित बिक्रेताबाट ग्यास पाउन नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका केन्द्रमा गई ग्यास खरिद गर्न सक्नेछन्।
ग्यास पाइने स्थान र ब्रान्ड
- नेपाल आयल निगम, टेकु परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर
- पशु सेवा शाखा, चपली–बुढानीलकण्ठ: नेपाल, एचपी र भानु
- राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
- नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
- तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
- चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी
निगमका अनुसार एलपी ग्यासको आयात नियमित भइरहेको छ भने नियमित बिक्रेतामार्फत पनि वितरण जारी छ। त्यसैले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा पुग्न आग्रह गरिएको छ। यसअघि शनिबार काठमाडौंका ५ स्थानबाट ६ हजार ८०२ थान ग्यास सिलिन्डर बिक्री गरिएको थियो।
