दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं दुर्गा प्रसाईंसँग सम्बन्धित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले अघि सारेका मागबारे छलफल गर्न सरकारले औपचारिक वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले जानकारी दिएका छन्। महाअभियानले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा विभिन्न माग राख्दै निवेदन दिएको थियो। ती मागबारे छलफल गरी समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले वार्ता टोली बनाइएको सरकारको भनाइ छ। सरकारी वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा महाअभियानका मागबारे सम्बन्धित पक्षबीच छलफल भएको थियो। उक्त छलफलपछि सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्ने सहमति भएको थियो। सरकारको वार्ताका लागि गरिएको आह्वानलाई महाअभियानका प्रतिनिधिले सकारात्मक रूपमा लिँदै वार्ताका लागि पठाइएको पत्रसमेत बुझेका छन्। छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापालगायत सहभागी थिए।

Back To Top
Modern Footer Design