चिनी अभावको हल्लासँगै बढ्यो मूल्य

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव हुनसक्ने भन्दै फैलिएको त्राससँगै यसको मूल्य बढ्न थालेको छ। पछिल्लो एक महिनामा मात्रै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको पाइएको छ।

केही समयअघि प्रतिकिलो ९५ देखि १०० रुपैयाँमा बिक्री हुँदै आएको चिनी अहिले काठमाडौं उपत्यकाका बजारमा ११५ देखि १२० रुपैयाँसम्म कारोबार भइरहेको छ। चिनीको मूल्य बढेसँगै दाल, चामल, खाने तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेपछि उपभोक्ता थप प्रभावित भएका छन्। भारतले गत वैशाखको अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालमा चिनी अभाव हुनसक्ने चर्चा सुरु भएको थियो। त्यसपछि नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति जारी गर्दै देशमा पर्याप्त चिनी मौज्दात रहेकाले तत्काल अभाव नहुने जनाएको थियो।

संघका अनुसार त्यसबेला नेपालमा करिब १ लाख ८ हजार टन चिनी मौज्दात थियो। तर अहिले मौज्दात घट्दै गएको भन्दै बजारमा मूल्य बढ्न थालेको व्यवसायीहरूको भनाइ छ। सामान्य अवस्थामा नेपालमा चिनीको औसत मासिक माग करिब २५ हजार टन रहेको बताइन्छ। तर जेठ, असार र साउनमा बजारमा चिनीको माग तुलनात्मक रूपमा कम हुने गरेको व्यवसायीहरू बताउँछन्। खुद्रा व्यापारीहरूले भने उद्योगीहरूले बजारमा पठाउने चिनीको परिमाण घटाउँदा मूल्य बढेको आरोप लगाएका छन्।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्यबारे अध्ययन गरिरहेको जनाएको छ। विभागका निर्देशक तारानाथ लुइँटेलका अनुसार प्रारम्भिक विश्लेषणमा चिनीको मूल्य प्रतिकिलो ११० देखि ११५ रुपैयाँसम्म पुगेको देखिएको छ। मौज्दातमा रहेको चिनी घट्दै गएकाले अभाव हुन नदिन भारतबाट चिनी आयात गर्ने तयारी भइरहेको विभागले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा मूल्य थप बढ्ने र बजारमा चिनी अभाव हुने हो कि भन्ने चिन्ता उपभोक्तामा देखिएको छ।

Back To Top
Modern Footer Design