काठमाडौं ।संघीय संसद्अन्तर्गतका विभिन्न नौवटा संसदीय समितिको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज धेरै समितिका बैठक एकैदिन बस्न लागेका हुन्। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ। त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा होटल एसोसिएसन नेपाललगायत पर्यटन क्षेत्रका सरोकारवालासँग छलफल गरिने कार्यसूची छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ। समितिमा प्राप्त विभिन्न उजुरीका विषयमा छलफल हुने बताइएको छ।कृषि तथा प्राकृतिक स्रोत समितिले पनि बिहान १० बजे बैठक गर्दैछ। बैठकमा नेपालमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ।यसैगरी पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गरिनेछ। त्यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता रकमको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल गरिनेछ। विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष तथा कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यसूची रहेको छ। यसरी आज संघीय संसद्का नौवटा समितिमा विभिन्न विधेयक, सुशासन, कृषि, पर्यटन, पूर्वाधार, वैदेशिक सहायता तथा अन्य समसामयिक विषयमा छलफल हुँदैछ।
