अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा इरानसँग कुनै पनि प्रकारको व्यापारिक कारोबार गर्ने देशमाथि ‘ठूलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक अभियान सुरु गर्न लागेको बताएका हुन्। उनले इरानलाई सहयोग पुग्ने गरी कुनै पनि देशका वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायले काम गरे ती देशमाथि कडा आर्थिक कारबाही गरिने बताएका छन्। यद्यपि, ट्रम्पले त्यस्ता देशमाथि कस्तो प्रकारको कारबाही गरिने हो भन्ने स्पष्ट पारेका छैनन्। उनले इरानसँग जोडिएका तेल तस्करी, नगद कारोबार, रकम स्थानान्तरण, मुद्रा विनिमय, पानीजहाज दर्ता तथा विभिन्न आवरण कम्पनीमार्फत हुने कारोबार तत्काल रोक्नुपर्ने बताएका छन्।
ट्रम्पको यो घोषणा इरानसँगको ६० दिने युद्धविराम समाप्त भएको केही दिनपछि आएको हो। अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यतिर इरानविरुद्ध सुरु गरेको द्वन्द्वपछि भएको युद्धविराम सोमबार समाप्त भएको थियो। युद्धविराम सकिए पनि कूटनीतिक वा सैन्य समाधानको स्पष्ट बाटो देखिएको छैन। ट्रम्पको पछिल्लो कदमलाई अप्रिलमा सुरु गरिएको ‘अपरेसन इकोनोमिक फ्युरी’ अन्तर्गतको आर्थिक दबाब अभियान विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। उक्त अभियानमार्फत इरानसँग कारोबार गर्ने विदेशी बैंक तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने नीति अघि बढाइएको थियो। यसैबीच, अमेरिकाको सहयोगी संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानसँगका सबै वित्तीय तथा आर्थिक सम्बन्ध तोड्ने घोषणा गरेको छ। इरानबाट समुद्री क्षेत्रमा लक्षित गरी दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको दाबीपछि यूएईले यस्तो निर्णय गरेको हो। इरानी पक्षले भने खाडी क्षेत्रका छिमेकी मुलुकलाई अमेरिकी सेनालाई कुनै पनि प्रकारको सहयोग उपलब्ध नगराउन चेतावनी दिएको छ।
अमेरिकी सेनालाई सहयोग गरे त्यस्तो कार्यलाई इरानले आफ्नो विरुद्धको सहकार्यका रूपमा लिने जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि केही दिनअघि इरानलाई विश्वले अहिलेसम्म नदेखेको स्तरको आर्थिक एकान्ततर्फ धकेल्ने बताएका थिए। यसैबीच, ट्रम्पले ओमानले अमेरिकाको इरानसम्बन्धी वार्तामा अवरोध गरेमा उसमाथि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएको खबर पनि सार्वजनिक भएको छ। अमेरिका र ओमानले इरानसँग विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक भएकाले त्यहाँको गतिविधिले अन्तर्राष्ट्रिय तेल बजार तथा विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ।
