काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चर्किँदै गएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापासँग भएको पार्टी एकता अन्त्य गर्ने तयारी थालेका छन्।
पार्टीको निर्णयविपरीत गतिविधि गरेको र नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोप थापामाथि लगाउँदै लिङ्देन पक्षले अब एकता कायम राख्न कठिन भएको निष्कर्ष निकालेको छ। विशेषगरी बागमती प्रदेश सरकारलाई लिएर देखिएको विवादले लिङ्देन र थापाबीचको दूरी थप बढाएको छ। पार्टी निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा थापाले भूमिका खेलेको लिङ्देन पक्षको आरोप छ।
स्रोतका अनुसार लिङ्देन काठमाडौँ फर्किएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर एकता भङ्गसम्बन्धी निर्णय गर्ने तयारीमा छन्। राप्रपाका केही नेताहरूले समेत पछिल्लो विवादपछि दुई पक्षबीचको एकता संकटमा परिसकेको बताएका छन्। यता कमल थापाले भने लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनले पार्टीभित्र संवाद र छलफलको सट्टा एकलौटी निर्णय भइरहेको आरोप लगाएका छन्।
यसैबीच, गत पुस १६ गते गरिएको राप्रपा र राप्रपा नेपालबीचको एकताले सात महिना बितिसक्दा पनि निर्वाचन आयोगबाट पूर्ण कानुनी मान्यता पाउन सकेको छैन। आवश्यक कागजात तथा प्रक्रिया पूरा हुन बाँकी रहेकाले आयोगले दुवै दललाई अझै छुट्टाछुट्टै दलका रूपमा हेर्दै आएको छ। यदि लिङ्देन पक्षले औपचारिक रूपमा एकता भङ्ग गर्ने निर्णय गरेमा केही महिनाअघि तामझामका साथ घोषणा गरिएको राप्रपा–राप्रपा नेपाल एकता छोटो समयमै अन्त्य हुनेछ।
