काठमाडौं । नेपाली सेनाले बिहीबार भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको छ।
उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन्। सेनाका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म हवाई माध्यमबाट ६०२ जनालाई सुरक्षित स्थानमा सारिएको हो। यसबाहेक २०० जनालाई स्थलमार्गबाट समेत उद्धार गरिएको छ। यस्तै, त्रिशूली क्षेत्रमा नेपाली सेनाको मेडिकल टोलीले बाढी तथा विपद्बाट प्रभावित ३३८ जनाको उपचार गरिरहेको छ। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र तालिमप्राप्त कुकुरसहित ४ हजार २०० भन्दा बढी सैनिक परिचालन गरेको जनाएको छ।
