राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा व्यवस्थापनको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

कांग्रेस सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार राहत पुग्न नसकेको र कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका हुन्। संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था भने फरक रहेको बताए।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै उनले स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा प्रभावित परिवारसँगको सम्पर्कबाट राहतको वास्तविक आवश्यकता र वितरण अवस्थाबारे जानकारी प्राप्त भएको बताए। उनका अनुसार राहत वितरणको डिस्प्याच तथा व्यवस्थापन संयन्त्र प्रभावकारी हुन नसक्दा आवश्यकता परेका नागरिकले राहत पाउन सकेका छैनन् भने कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको अवस्था छ।

सरकारले अवलम्बन गरेको ‘एकद्वार प्रणाली’मा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासोसमेत आएको राईले बताए। प्रभावित नागरिकको संख्या, उनीहरूको अवस्था र आवश्यक राहतबारे स्थानीय तहसँग प्रत्यक्ष जानकारी हुने भएकाले राहत वितरणमा स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने उनको भनाइ छ। राईले विपद् व्यवस्थापनका लागि तत्काल स्पष्ट र अद्यावधिक तथ्याङ्क संकलन गर्नुपर्ने बताए। विपद्अघि रहेको जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा पहिचान हुन नसकेका व्यक्तिको यकिन विवरण तयार गर्नुपर्ने उनले बताए।

त्यस्ता विवरण स्थानीय तह, सुरक्षा निकाय र स्थानीय नागरिकसँग रहेको भन्दै राईले सबै पक्षलाई संयुक्त रूपमा परिचालन गरी खोज तथा उद्धारको काम अघि बढाउनुपर्ने बताए। विपद् व्यवस्थापनको काम जटिल रहेको र आवश्यक उपकरणको समेत अभाव देखिएको उनले उल्लेख गरे। विपद्को समयमा नागरिकमा सरकारको उपस्थितिको अनुभूति दिलाउन संसद् तत्काल सञ्चालन गर्नुपर्ने मागसमेत राईले गरे। सरकारलाई कांग्रेसले छलफलका लागि ढिला बोलाएको गुनासो गर्दै उनले संसद्मार्फत विपद्को अवस्था, राहत तथा उद्धारबारे छलफल गरी सरकारलाई जवाफदेही बनाउन आवश्यक रहेको बताए। राहत वितरण, खोज तथा उद्धार र पुनःस्थापनाको काम निष्पक्ष तथा प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ। साथै, संसद् सुचारु गरी विपद्सँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने कांग्रेसको धारणा छ।

Back To Top
Modern Footer Design