काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ।
बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू सुरुङभित्र र बाहिर फसेका थिए। केहीको उद्धार भए पनि केही अझै सम्पर्कविहीन छन्। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार सेनाले हालसम्म सुरुङभित्र र बाहिरबाट गरी ३ हजार २ सयभन्दा बढी नेपाली नागरिकको उद्धार गरिसकेको छ। यस्तै, २७० भन्दा बढी विदेशी नागरिकलाई पनि उद्धार गरिएको उनले जानकारी दिए।
उनका अनुसार प्रभावित क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा प्राविधिक टोलीसहित नेपाली सेनाले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। रेश्मीले भने, ‘हाम्रो मुख्य प्राथमिकता जीवित उद्धार हो। प्रभावित क्षेत्रमा रहेका सातवटै सुरुङमा खोज तथा उद्धारको काम जारी छ।’
कुन आयोजनाको सुरुङमा उद्धार कहाँसम्म पुग्यो ?
त्रिशूली–३ ‘ए’
त्रिशूली–३ ‘ए’ को सुरुङभित्र उद्धार टोली करिब १७० मिटरसम्म प्रवेश गरिसकेको छ। सोही क्रममा सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ। अन्य सम्भावित व्यक्तिको खोजी भने जारी छ।
त्रिशूली–३ ‘बी’
यस आयोजनाको सुरुङमा नेपाली सेनाको टोली करिब ३० मिटरभित्रसम्म पुगेको छ। सुरुङमा जम्मा भएको माटो र लेदो हटाउने काम भइरहेको छ।
चिलिमे जलविद्युत आयोजना
चिलिमेको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्रसम्म प्रवेश गरी खोजी गरिरहेको छ।
लाङटाङ हाइड्रो
लाङटाङ हाइड्रोको सुरुङमा विभिन्न स्थानबाट प्वाल पारेर करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको बाटो खोलिएको छ। त्यहाँबाट पनि उद्धार प्रयास जारी छ।
अपर त्रिशूली–१
अपर त्रिशूली–१ को सुरुङभित्र नेपाली सेनाको उद्धार टोली करिब २०० मिटरसम्म पुगेको छ।
रसुवागढी जलविद्युत आयोजना
रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा पनि सेनाको टोली २७५ मिटरसम्म प्रवेश गरिसकेको छ। त्यहाँ खोजी तथा उद्धार कार्य जारी छ।
स्थलमार्गबाट पनि उद्धार
नेपाली सेनाले हवाई उद्धारसँगै प्रभावित क्षेत्रमा स्थलगत उद्धारलाई पनि निरन्तरता दिएको छ। सेनाले इन्द्रेणी घाटमा तुइन निर्माण गरिसकेको छ भने देवीघाटमा तुइन र बेलिब्रिज निर्माणको कामसमेत सुरु गरेको महासेनानी रेश्मीले बताए। उनका अनुसार हवाई उद्धारबाहेक सेनाले प्रभावित क्षेत्रमा १९ स्थानबाट स्थलगत उद्धार तथा व्यवस्थापनको काम गरिरहेको छ। बाढीपछि जोखिमपूर्ण अवस्थामा रहेका सुरुङमा फसेका व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै नेपाली सेना र प्राविधिक टोलीले उपलब्ध स्रोतसाधन प्रयोग गरेर उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्।
